बेचिएको देश
म बेचिएको देशको खुद्रकी सामन
सत्तालाई बिमा गरेका अभिकर्ताको क्लाइन्टस
स्वाभिमानको भोटलाई नोटमा बेच्ने अनागरिक
स्वतन्त्रतालाई ज्यू हजुरमा तोल्ने सडकको मुर्ति ।
हो म नुनको गुण चिनीले तिर्ने नागरिक
फुटेका चुरा लगाई छमछम्ती नाच्छु उनका आवाजमा
फाटेका जुत्ता लगाई ठिङ्ग्रीङ्का उभिन्छु उनका बोलाइमा
उनले जा भन्दा जाने, बस भन्दा बस्ने आज्ञाकारी नोकर भएछु
उनले आची गर्दा पनि, वाह क्या बासना भन्ने बौलाहा कुकुर भएछु ।
हो म बेचिएको देशको स्वतन्त्र नागरिक,
काखीको पसिना भन्दा बढि गन्नाई सकेको छ मेरो इमान
चुरोटको ठुटो भन्दा सस्तोमा बिक्री भइसकेको छ मेरो जवान
अभिकर्ताहरूले हरेक क्षण मजाकको धुवामा उडाइरहेको छ
बाध्यताको मेरो फुटबललाई प्रत्येक पल शासकको खुट्टाले खेलाईरहेको छ ।
हो म बेचिएको देशको बिद्रोही नागरिक
देशका सिमाहरू हल्लाउदा, फेसबुक रगतका अक्षरले पोतिदिन्छ
बाझा दिमागलाई, कथित कोठे राष्ट्रभक्तले पलपल जोतिदिन्छ
सडकमा टायर बाल्दै राजनितिक स्वच्छताको मागहरू माग्ने म नै हो,
शासकका नाङ्गोपनमा आफै नाङ्गिएर बिगुल फुक्ने म नै हो ।
हो म बेचिएको देशको भ्रष्ट नेताका कार्यकर्ता
राष्ट्रलाई बन्धकीमा राखि सिंहासनमा बस्ने फटाई स्यालहरूलाई
दिनहुँ मेरो भोट बेचिरहेको छु,
समृद्धिको रंगमञ्चमा नाच्न नजान्नेहरूको नाचलाई दिनहुँ हेरिरहेको छु,
ऊटको पेट बनाउन देश बेच्ने दलालहरूको साक्षी म आफै हुँ
भ्रष्ट नेताको पेट छोप्ने इमानदार कार्यकर्ता म आफै हुँ
किनकी बेचिएको देशको नागरिक ।









